
मेटाले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ उल्लङ्घन गर्ने अकाउन्ट वा पेजलाई सस्पेन्ड (निलम्बन) गर्ने गर्छ । प्लेटफर्मलाई सुरक्षित र व्यवस्थित बनाउन कस्ता सामग्री पोस्ट गर्ने र कस्ता नगर्ने भन्नेबारे मेटाले निश्चित नियम तय गरेको छ, त्यसलाई नै ‘कम्युनिटी गाइडलाइन्स’ भनिन्छ । यदि प्रयोगकर्ताका कुनै पनि पोस्ट यी नियम वा आफ्नो नीति विपरीत भएमा फेसबुकले त्यस्ता अकाउन्ट वा पेज सस्पेन्ड गर्छ ।
यद्यपि, अकाउन्ट सस्पेन्ड हुनु नै अन्तिम कारबाही भने होइन । यसका लागि मेटाले प्रयोगकर्तालाई आफ्नो बचाउ गर्न र गल्ती सच्याउन अधिकतम १८० दिनको समय उपलब्ध गराउँछ । यो अवधिभित्र प्रयोगकर्ताले प्रमाणसहित अपिल गर्नुपर्ने हुन्छ र यदि अपिल सफल भएन वा तोकिएको समयमा अपिल गरिएन भने अकाउन्ट स्थायी रूपमा निष्क्रिय हुन्छ ।
फेसबुकमा के-के गर्न पाइँदैन ?
मेटाका यी सबै नियम मुख्यतया प्रमाणिकता (Authenticity), सुरक्षा (Safety), गोपनीयता (Privacy) र मर्यादा (Dignity) जस्ता चार आधारभूत मूल्यमान्यतामा टिकेका छन् । हिंसा र आपराधिक गतिविधिलाई रोक्न मेटाले ‘हिंसा र उत्तेजना’ सम्बन्धी नीति तय गरेको छ ।
यस अन्तर्गत वास्तविक संसारमा भौतिक क्षति पुर्याउने, ज्यान लिने वा गम्भीर घाइते बनाउने खालका धम्कीपूर्ण सामग्री राख्न पाइँदैन । मेटाले खतरनाक संस्था र व्यक्तिलाई दुई वटा तहमा वर्गीकरण गरेको छ । ‘टियर १’ मा आतङ्कवाद, घृणा फैलाउने समूह, सङ्गठित अपराध र सामूहिक हत्यामा संलग्न पर्दछन् भने ‘टियर २’ मा सशस्त्र द्वन्द्वमा संलग्न, तर नागरिकलाई लक्षित नगर्ने समूह पर्दछन् । यस्ता संस्थाको प्रशंसा गर्ने, उनीहरूलाई समर्थन जनाउने वा उनीहरूको प्रतिनिधित्व गर्ने कुनै पनि सामग्री मेटाले हटाउँछ ।
यसका साथै ‘स्वाटिङ’ जस्ता खतरनाक ठट्टा, उच्च जोखिमयुक्त भाइरल च्यालेन्ज र जनावरमाथिको हिंसा वा तिनको लडाइँ देखाउने सामग्री पूर्ण प्रतिबन्धित छन् । सम्पत्तिमा क्षति पुर्याउने, तोडफोड गर्ने वा चोरी गर्न उक्साउने गतिविधिलाई पनि उल्लङ्घन मानिन्छ । चुनावी अखण्डता जोगाउन भोट खरिद-बिक्री गर्ने, मतदानमा अवरोध पुर्याउने वा जनगणनाका बारेमा गलत जानकारी फैलाउने कार्य वर्जित छ ।
आर्थिक सुरक्षाका लागि मेटाले ठगी र घोटाला विरुद्ध शून्य सहनशीलता अपनाएको छ । यसअनुसार ऋण दिने प्रलोभन देखाएर अग्रिम शुल्क माग्ने, छिटो धनी हुने खालका नक्कली लगानीका स्किम र ग्यारेन्टी फिर्ताको आश्वासन दिने विज्ञापन निषेध गरिएका छन् । अनलाइन माध्यमबाट प्रेमको नाटक गरी पैसा ठग्ने ‘रोमान्स स्क्याम’, परोपकारको नाममा गरिने ठगी र ठुला व्यवसायको नाम प्रयोग गरेर गरिने जालसाजीलाई पनि मेटाले रोक लगाएको छ ।
नक्कली भिसा, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, सरकारी परिचयपत्र वा नक्कली मुद्राको किनबेच गर्ने सामग्री प्लेटफर्ममा राख्न पाइँदैन । चोरीका क्रेडिट कार्ड विवरण साटासाट गर्ने ‘कार्डिङ’ र अवैध पैसालाई वैध बनाउने ‘मनि लाउन्डरिङ’ जस्ता गतिविधिमा संलग्न अकाउन्ट पनि मेटाले सस्पेन्ड गर्छ । साथै जुवा र चिट्ठाका विज्ञापनका लागि पनि मेटाले मापदण्ड तोकेको छ, जहाँ पैसा जित्ने निश्चितता भएको वा सेटिङ मिलाइएको दाबी गर्न पाइँदैन ।
प्रतिबन्धित वस्तु र सेवाको व्यापारका सन्दर्भमा मेटाले कानुनी र गैरकानुनी दुवै प्रकारका कतिपय सामग्रीमा रोक लगाएको छ । लागुऔषध, गाँजा र प्रेस्क्रिप्सन चाहिने औषधिको अनधिकृत विक्री वितरण पूर्ण रूपमा निषेध गरिएको छ । यद्यपि यसबारे सचेतना फैलाउने वा कानुनी बहस गर्ने छुट भने दिइएको छ ।
हतियार, गोलीगट्ठा, विस्फोटक पदार्थ र हतियार बनाउने तरिका सिकाउने सामग्रीलाई मेटाले स्थान दिँदैन । मदिरा र सुर्तीजन्य वस्तुको हकमा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई यस्ता सामग्री नदेखिने गरी प्रतिबन्ध लगाइएको मेटाको दाबी छ ।
त्यस्तै लोपोन्मुख प्रजातिका वन्यजन्तु, दुर्लभ बिरुवा र पुरातात्विक महत्त्वका ऐतिहासिक वस्तुको व्यापारमा पूर्ण रोक छ । मानव अङ्ग वा शरीरका तरल पदार्थ जस्तै रगत, वीर्य वा प्लाज्माको किनबेच गर्न पाइँदैन । स्वास्थ्य र फिटनेसका सन्दर्भमा तौल घटाउने औषधि वा कडा डाइटिङका सामग्री १८ वर्षभन्दा माथिकालाई मात्र देखाइन्छ र अवास्तविक परिणामको दाबी गर्ने सामग्री मेटाले हटाउँछ । कस्मेटिक सर्जरी र वयस्कका लागि बनाइएका यौनजन्य उत्पादनहरूको विज्ञापनमा पनि उमेरको हदबन्दी र सामग्रीको प्रकृतिका आधारमा विशिष्ट नियमहरू छन् ।
यौन हिंसा, शोषण र आत्मसम्मानमा ठेस पुर्याउने कार्य विरुद्ध मेटाका नियम अत्यन्तै संवदेनशील छन् । कसैको निजी वा नग्न तस्विर र भिडिओ सम्बन्धित व्यक्तिको अनुमति बिना सार्वजनिक गर्ने ‘बदलाको भावनाले गरिने नग्नता’ र यसको माध्यमबाट पैसा वा अन्य लाभका लागि गरिने बार्गेनिङ (सेक्सटर्सन) लाई अपराध मानिन्छ । गाइडलाइन्स अनुसार बाल यौन शोषणका सामग्री वा बालबालिकालाई यौनिक रूपमा चित्रण गर्ने कुनै पनि पोस्ट गर्ने प्रयोगकर्तालाई मेटाले तत्कालै हटाएर कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा रिपोर्ट गर्ने गरिएको छ ।
त्यसका साथै वेश्यावृत्ति, यौनिक मसाज वा व्यावसायिक यौन सेवाका लागि सम्पर्क गर्ने कार्य वर्जित छन् । वयस्क नग्नता र यौन क्रियाकलापका सन्दर्भमा, यौन अंग देखिने वा यौन क्रियाकलाप झल्किने सामग्री मेटाले हटाउँछ । यद्यपि स्तनपान गराएका तस्बिर, स्वास्थ्य परीक्षण (जस्तै स्तन क्यान्सर परीक्षण), लिङ्ग परिवर्तनका शल्यक्रिया र कलात्मक मूर्तिका हकमा केही छुट पनि दिइएको छ ।
बुलिङ, उत्पीडन र घृणास्पद अभिव्यक्तिका विरुद्ध मेटाले प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ । खासगरी जाति, धर्म, राष्ट्रियता, लिङ्ग, अपाङ्गता वा गम्भीर रोगका आधारमा कसैलाई आक्रमण गर्नु वा उनीलाई अमानवीयकरण गर्ने गरी तुलना गर्नुलाई हेट स्पिच मानिन्छ । मेटाले सार्वजनिक पदमा रहेका व्यक्ति र निजी व्यक्तिका लागि छुट्टाछुट्टै नीति बनाएको छ । सार्वजनिक व्यक्तिको आलोचना गर्न पाइने भए पनि उनीहरूमाथि शारीरिक हमलाको धम्की दिन वा उनीहरूको मृत्युको कामना गर्न पाइँदैन । बालबालिका र किशोरकिशोरीको हकमा भने मेटा अझ बढी संवेदनशील भएको दाबी गर्छ । उनीहरूलाई लक्षित गरी गरिएको शारीरिक बनावटको टिप्पणी वा अपमानजनक भिडिओ तुरुन्तै हटाइने मेटाको दाबी छ । सामूहिक रूपमा गरिने उत्पीडन र धेरै प्रयोगकर्ता मिलेर कसैलाई मानसिक यातना दिने कार्यलाई पनि रोक्ने व्यवस्था मेटाले गरको छ ।
गोपनीयता, प्रमाणिकता र सूचनाको शुद्धतालाई मेटा आफ्नो प्लेटफर्मको मेरुदण्ड भएको बताउँछ । कसैको फोन नम्बर, घरको ठेगाना, बैङ्क विवरण वा सरकारी परिचयपत्र जस्ता व्यक्तिगत जानकारी (वैयक्तिक विवरण) सार्वजनिक गर्नु नियम विपरित हुन्छ । अर्को व्यक्तिको नाम वा तस्बिर प्रयोग गरी नक्कली अकाउन्ट बनाएर झुक्याउने कार्य वा अटोमेटेड सफ्टवेयर प्रयोग गरी लाइक र फलोअर बढाउने स्पाम गतिविधिलाई पनि मेटाले रोक्ने गर्दछ । समाजमा भ्रम फैलाउने गलत सूचना, विशेष गरी स्वास्थ्य सम्बन्धी भ्रम र निर्वाचनलाई प्रभावित पार्ने अफवाहलाई मेटाले हटाउने वा ‘फ्याक्ट चेक’ लेबल लगाउने गर्छ ।
एआई सिर्जित वा तोडमोड गरिएका सामग्रीको हकमा स्पष्ट जानकारी दिनुपर्ने नियम छ । बौद्धिक सम्पत्तिको हकमा अरूको प्रतिलिपि अधिकार वा ट्रेडमार्क उल्लङ्घन गर्ने सामग्रीहरू हटाउने र बारम्बार उल्लङ्घन गर्नेको अकाउन्ट बन्द गर्ने नीति छ । त्यसैगरी कुनै प्रयोगकर्ताको मृत्यु भएमा उसको परिवारको अनुरोधमा अकाउन्टलाई मेमोरियलाइज गर्ने वा हटाउने व्यवस्था पनि मेटाले गरेको छ ।
यी नीतिबारे विस्तृतमा बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । तपाईंले आज मेटाको नीति विपरीतका कन्टेन्ट राख्नुभयो; तर हटेन भने छुट पाइयो भन्ने हुँदैन । त्यसमा सम्भवतः मेटाको स्वचालित सिस्टमले तत्काल त्यस्तो सामग्री पहिचान नगरेको हुनसक्छ । वा, पहिचान गर्ने क्रममा सिस्टम चुकेको पनि हुन सक्छ । तर, यस्ता कन्टेन्ट जति पुरानो भए पनि मेटाको टिम वा सिस्टमले पहिचान गरेमा नीति उल्लङ्घन गरेको सूचना सम्बन्धित अकाउन्टलाई जाने गर्छ । खासगरी प्रयोगकर्ताले रिपोर्ट गरेका छन् भने जति पुरानो नीति उल्लङ्घन गर्ने पोस्ट भए पनि त्यसलाई मेटाले कारबाहीको दायरामा ल्याउँछ । गम्भीर किसिमको रहेछ भने अकाउन्ट नै सस्पेन्ड हुने जोखिम पनि हुन्छ । अझै गम्भीर रहेछ भने अकउन्ट नै हट्न सक्छ ।
सोत् Techpana -
0 Comments